Friday, August 15, 2008

भूतपूर्व विद्रोही 'प्रचण्ड' प्रधानमन्त्रीमा विजयी

- भूतपूर्व माओवादी विद्रोही नेता पुष्पकमल दाहाल 'प्रचण्ड' गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका छन्। संविधानसभामा शुक्रबार भएको चुनावबाट उनी दुई तिहाइभन्दा बढी मतका साथ प्रधानमन्त्रीमा चुनिएका हुन्। उनले आफ्ना एकमात्र प्रतिस्पर्धी नेपाली कांग्रेसका वरिष्ठ नेता तथा भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई हराएका थिए। दाहालको पक्षमा ४६४ मत र विपक्षमा ११३ मत परेको थियो।
नेकपा एमाले र मधेशी जनअधिकार फोरमको सहयोगमा उम्मेदवारी दिएका उनलाई अन्य साना दलहरुले पनि समर्थन गरेका थिए। अझै पनि राजतन्त्र पुनर्स्थापना हुने आशामा रहेको राप्रपा नेपालले पनि उनलाई नै मत दिएको थियो। अबीर र माला
प्रधानमन्त्री चुनिएपछि अबीरले रातै भएका पुष्पकमल दाहालको गलाभरि फूलको माला देखिन्थ्यो। पत्रकार र शुभचिन्तकहरुको भीडलाई चिर्दै कुनै प्रतिक्रिया नदिइ उनी सरकारी र आफ्ना लडाकूहरुको सुरक्षा लस्करकाबीच निजी निवासतर्फ लागेका थिए।
उनले मतदान शुरु हुन केही बेरअघि माओवादी सेनाको सर्वोच्च कमाण्डरको पद त्याग गरेको घोषणा पनि गरेका थिए।
संविधानसभामा चुनिएकाहरु पनि डेपुटी कमाण्डरको पदबाट मुक्त भएको नेकपा माओवादीले जनाएको छ।
बधाइ र चेतावनी
आफ्नो पराजय पछि बोल्दै नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले भने, "बन्दूकबाट एकदलीय सर्वसत्ता लागू गर्न चाहने माओवादी नेता बहुदलीय प्रतिस्पर्धाबाट प्रधानमन्त्री बन्नु भएकोमा उहाँलाई मेरो हार्दिक बधाई छ।" राम्रो काम गरे रचनात्मक सहयोग गर्ने बताउँदै उनले चेतावनीपूर्ण शैलीमा भने, "थिचोमिचो गर्न खोजेमा भने विरोध गर्नेछौ।" नेपाली कांग्रेसका सभापति समेत रहेका निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि आफु दाहालको विजयबाट खुसी भएको बताए। चुनावको परिणाम पछि नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने घोषणा गरेको छ।
प्रचण्ड बहुमतका साथ प्रधानमन्त्री बने लगत्तै 'प्रचण्ड' लाई छिमेकी देश भारत, महाशक्ति राष्ट्र अमेरिका, युरोपेली संघ र जापानले बधाइ दिएका छन्।