Wednesday, July 23, 2008

अर्घाखाँचीको ठूलापोखरामा गुरुलाई बोकेर विद्यालय

वीरेन्द्र केसी, अर्घाखाँची - विद्यार्थीहरू गुरुलाई घरबाट बोकेर विद्यालय पुर्‍याउँछन् र पढाइ सकिएपछि बेलुका घरमै पुर्‍याइदिन्छन् भन्दा अचम्म लाग्छ । झट्ट हेर्दा पाँच वर्षो बालकजस्तो तर दाह्री-कपाल सेतै फुलेका कृष्णप्रसाद पौडेललाई बिहानको १० नबज्दै विद्यार्थीहरू घरमा लिन आउँछन् र पिठ्यूँमा बोकेर कक्षाकोठाभित्र लैजान्छन् ।
३६ वर्षेखि अर्घाखाँचीको भगवती निम्न माध्यमिक विद्यालय ठूलापोखरामा पढाइरहेका छन् पौडेल । दुवै खुट्टाले टेक्न र बस्न नसक्ने भएकाले विद्यार्थीले नै बोकेर विद्यालय पुर्‍याई कुर्सीमा राख्छन् र बेलुका सातौँ घन्टी पढाएपछि बोकेर घर पुर्‍याउँछन् । पौडेलको तौल १० किलो मात्रै छ ।

उनी कक्षा ४ र ५ मा नेपाली, मेरो सेरोफेरो र वातावरणलगायतका विषय पढाउँछन् । ५ कक्षाकी सुविक्षा पाण्डे भन्छिन्, "गुरुले कालो पाटीमा लेख्न सक्नुहुन्न । तर, नबुझेका र अप्ठ्यारा शब्दहरू हामीलाई कालो पार्टीमा लेख्न लगाएर बुझाइदिनुहुन्छ ।" आफ्नै प्रयासमा ०४० सालमा विद्यालय स्वीकृत गराएका पौडेललाई त्यतिबेला पढाएबापत अभिभावकले मानापाथी अन्न दिन्थे भने हाल गाउँलेले मासिक १ हजार ५ सय रुपियाँ दिँदै आएका छन् ।